एसडी मुनिको स्वीकारोक्ति : भारत सारा छिमेकमा फेल भइरहेको छ !

काठमाडौं । नेपालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियाले जतिसुकै चर्को–चर्को कुरा गरे पनि नेपालको मामिला बुझ्ने कूटनीतिज्ञ र विश्लेषकचाहिँ निकै अत्तालिएको पाइएको छ ।

नेपालको मामिलाका जानकार मानिने भारतीय बुद्धिजीवी एसडी मुनिले त नेपालको मामिलामा मात्र होइन, सारा छिमेकमा भारत फेल भइरहेको स्वीकारेका छन् ।

त्यसैगरी नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले पनि नेपालबाट नयाँ नक्सा जारी भएपछि भारतका लागि चुनौती सिर्जना भएको भन्दै नेपालसँगको सम्बन्धमा दरार आउन नहुने बताएका छन् ।

नेपालको मामिलामा नरमरुपमा प्रस्तुत भएता पनि दुबैले नेपालमा चिनियाँ प्रभाव बढेको एकैस्वरमा आरोप लगाएका छन् ।

भारतीय पत्रकार मनोज मनुको ‘एडिचर च्वाइस’ कार्यक्रममा उनीहरुले दिएको प्रतिक्रियाको अंश भारतको धारणा बुझ्नलाई सहयोगी हुने ठानेर यहाँ प्रस्तुत गरिएको छ ।

हामी सारा छिमेकमा फेल भइरहेका छौं : एसडी मुनी

जे अहिले भएको छ, यो राम्रो होइन हाम्रा लागि । यसलाई बातचितबाट हल गर्नुपर्छ । हामीले मानि पनि सकेका छौं कि बातचितबाट हल गर्नेछौं । यसलाई राजनीतिकरण गर्नु न नेपालको दीर्घकालीन हितमा छ, न हाम्रो दीर्घकालीन हितमा छ ।

यसको सीधा समाधान जो हुनेछ, यसमाथि नेपालसँग के दस्ताबेज छ, उनीहरु १८१६ को सन्धीको कुरा गरिरहेका छन्, त्यो सही हो । हामी पनि १८१६ को सन्धीलाई मान्छौं । तर, यसको व्याख्या हाम्रो अलग–अलग छ । जो नदी र त्यसको मुहानमा छ । यसका लागि हिन्दुस्तानसँग पनि आफ्नो दस्ताबेज छ । दुबै पक्ष बसेर आरामका साथ बातचित गरेर यसको फैसला गर्नुपर्छ ।

चीनको जुन प्रभाव बढिरहेको छ, जो एक वास्तविकता हो । यो सिर्फ नेपालमा मात्रै बढिरहेको छैन । हाम्रो चारैतिर बढिरहेको छ । श्रीलंकामा, म्यानमारमा, बंगलादेशमा, पाकिस्तानमा, मालदिभ्समा । कहाँ बढिरहेको छैन ? सारा एशियामा चीनको प्रभाव बढिरहेको छ । यो भारतका लागि एउटा ठूलो चुनौती हो । र, यो चुनौती नेपालबाट कैयौं ज्यादा बढी छ ।

यो चुनौतीको सामना गर्नका लागि हामीले एक रणनीति सुचारु रुपबाट बनाएर चलाउनुपर्छ । नत्र हामी पछाडि पर्नेछौं । अहिले पनि मलाई लाग्छ कि हामी पछाडि परिरहेका छौं । यसले गर्दा हामी बहुत सावधानीका साथ अगाडि बढ्नुपर्छ ।

तेस्रो, यो सब जुन पहलु हो, यो इमोसनल नेस्नालिजम, राष्ट्रवादको पहलु हो । हाम्रा सारा छिमेकीले एक यस्तो राष्ट्रवाद सुरु गरिदिएका छन्, जसमा भारतउपर निशानाबाजी गर्छन् । यो उचित होइन । न छिमेकीहरुका लागि उचित हो, न भारतका लागि हो । यसका निम्ति एक राजनीतिक समस्याको हामीले सामना गर्नुपर्नेछ । अन्यथा यो स्थिति पछिल्लो तीन÷चार वर्षदेखि बिग्रिरहेको छ । र, अरु धेरै बिग्रिरहनेछ । र, चीन र पाकिस्तानजस्ताले उसलाई उक्साउने छन्, उसलाई अघि बढाउनेछन् ।

कहीँ न कहीँ हामी सारा छिमेकमा फेल भइरहेका छौं । हेर्नुहोस् श्रीलंकामा स्थिति बदलियो । राजापाक्षे पहिले राष्ट्रपति थिए, उनी दोस्रोपटक आए । जुन संयुक्त सरकार त्यहाँ बनेको थियो, यसको सहानुभूति भारतका लागि थियो, त्यो चाँडै खत्तम भयो । मालदिभ्समा सत्ता परिवर्तन भएको छ र हालत केही ठीक छ ।

बंगलादेशमा पनि आमरुपमा मानिसहरु, स्वयं हसिनाले भनेकी छिन् हाम्रो ( भारतको) घरेलु नीतिले बंगलादेशमाथि असर पर्छ । नेसनल रजिस्टर्डको हामी कुरा गरिरहेका छौं, यसबाट बंगलादेशी जनता हैरान छन् । मुसलमानको हामी कुरा गर्छौं, बंगलादेशी जनता हैरान छन् । यी सबै नीतिहरुको असर पर्छ ।

तब म यही भन्छु कि समग्ररुपमा बस्नुपर्छ । किनकि हाम्रा छिमेकी यस्ता छन् कि कतिपय मानेमा आर्टिफिसियल छन्, हामी सब एकै थियौं, जहाँ राजनीतिक सीमा वीचमा पर्‍यो र हामी अलग भयौं । अलग पहिचान भयो । भारत, पाकिस्तान र बंगलादेशका जनता त एकै थिए ।

नेपालमा सम्बन्धमा पनि यति गहिरो सम्बन्ध थियो हाम्रो । श्रीलंकासँग शदिऔंको हाम्रो सम्बन्ध हो । त्यसर्थ यो सबैलाई हेर्दै यो कुराको ख्याल गर्नुपर्छ कि हामीले आफ्नो नीति चाहे घरेलु होस्, जसको असर छिमेकीमा पनि पर्छ, चाहे त्यो विदेश नीति, चीनप्रति होस् या पाकिस्तानप्रति, त्यसको पनि असर पर्छ ।

हेर्नुहोस्, दुर्भाग्यको कुरा हो कि छिमेकमा जुन राष्ट्रवाद छ, त्यो भारतको विरुद्धमा छ । जसलाई हामी इन्टी इण्डियानिजम भन्न सक्छौं । जो राष्ट्रवाद सारा क्षेत्रमा बढिरहेको छ । भारतमा पनि बढिरहेको छ । नेपालमा पनि बढिरहेको छ । यसको हामीले प्रत्यक्षरुपले अनुभव गरिरहेका छौं ।

यसमा म मान्छु कि काफी हदसम्म हाम्रो कूटनीतिको वा राजनीतिको कमी पनि छ । तर, यसका साथसाथै सबैभन्दा ठूलो प्रश्न हो कि वहाँका जो नौजवानहरु छन्, उनीहरुको जो भावना, आकांक्षा र महत्वाकांक्षा छ, उनीहरुले जबसम्म यो महसुस गर्न पाउँदैनन् कि यी आकांक्षा पूरा गर्नका लागि भारतले मद्दत गर्नेछ, यसबाट भारतलाई कुनै लिनुदिनु छैन ।

हामी लामो कुरा गर्छौं, रोटीबेटीको कुरा गर्छौं । संस्कृतिको कुरा गर्छौं । हिन्दु धर्मको कुरा गर्छौंं । भाषाको कुरा गर्छौं । यी सबै कुराहरु बेइमानी हुन् । जबसम्म दैनिक काम र भविश्यको आकांक्षा पूरा गर्नमा यो पुरानो संस्कार काम लाग्दैन भने यसको भेल्यु कम भएर जान्छ । हामीले यो कोसिस गर्नुपर्छ कि जनताको लेबलमा । यसमा हाम्रो कमजोरी छ ।

भारतविरोधी राष्ट्रवाद र चाइना कार्ड अरु जटिल हुन्छ : पूर्वराजदूत

म दुई चिज भन्न चाहन्छु । सबैभन्दा पहिले त भारत र नेपालको सम्बन्ध बहुत प्रगाढ छ । दुबै देशवीचको यो जुन सम्बन्ध छ, यो जनस्तरको सम्बन्ध हो । यो केवल सरकारका वीचको सम्बन्ध मात्रै होइन । पहिलो पोइन्ट यो हो । दोस्रो, हामीसँग यति प्रगाढ सम्बन्ध छ भने केही न केही कठिनाइ त आउँछ । केही मतभेद हुन्छ ।

‘छिमेकी पहिलो’ नीति धेरै महत्वपूर्ण र जरुरी नीति हो । किनभने, हामीले हाम्रा छिमेकीका साथ हमेसा यो कोसिस गर्नुपर्छ कि हाम्रो सम्बन्ध अरु सुध्रियोस् । साथै म यो भन्न चाहन्छु कि कठिनाई हुन्छन्, किनकि हामी छिमेकी हौं, हामीवीच घनिष्ट सम्बन्ध छ । त्यसकारण कठिनाइको पनि उभार आउन सक्छ ।

दूरदराजका देशहरुका साथमा त हाम्रो न यति प्रगाढ मित्रता हुन्छ, न यति कठिनाई हुन्छ । कठिनाईहरु त हेर्नुहोस् जो भाइ–भाइ हुनछन्, उनीहरुका वीचमा आउँछन् । चनौती यो हो कि यी कठिनाईलाई कुन तरिकाले समाधान गर्ने ? सम्बन्धमा दरार आउनुहुँदैन र कठिनाइको पनि समाधान हुनुपर्छ ।

यो सीमाको जुन विवाद छ, यो काफी विवादित मुद्दा हो । र, यो आजको हैन, केही दशकदेखि यो मुद्दा चलिरहेको छ । यसप्रकारको मुद्दा सुल्झाउनका लागि वार्ता नै एक विकल्प हो । मलाई त लाग्छ कि वार्ताबाटै यस प्रकारका जुन मुद्दाहरु समाधान हुन्छन् ।

तेस्रो– जहाँसम्म चीनको सवाल छ, मलाई लाग्छ कि पछिल्ला केही दिनमा, केही महिनामा, एक÷दुई सालमा चीनको प्रभाव नेपालमा धेरै बढ्दै गइरहेको छ । यो न केवल कनेक्टिभिटी प्रोजेक्ट वा तिनको लगानीमा मात्र छ, चीन नेपालको आन्तरिक मामिलामा काफी हस्तक्षेप पनि गरिरहेको छ ।

हालको दिनमा हामीले देख्यौं कि ओलीजीको सरकारलाई आफ्नो पार्टीभित्रबाट काफी कठिनाई थियो । तब, यसमा चीनका राजदूतको अहम भूमिका रह्यो, यो सबै समस्या समाधान गर्नका लागि ।

चीनको भूमिका त निश्चय नै बढ्दै गइरहेको छ नेपालमा । यसका लागि भारतले केही रणनीति जरुर अपनाउनुपर्ने छ ।

जब नेपालमा केही कठिनाइ हुन्छ, आन्तरिक कठिनाइहरु हुन्छन् , वहाँको, खासगरी जो कम्युनिस्ट पार्टी छ, ऊ भारतविरोधी राष्ट्रवादको नारा दिन्छ । र, आफ्नो जुन घरेलु समस्या हुन्छ, त्यसलाई डाइभर्ट गर्ने प्रयत्न गर्छ ।

यहाँ दुई चिज छन् ः एक त ऊ भारतविरोधी राष्ट्रवादको नारा, तपाईले देख्नुभएको छ, हाम्रा नेताहरुको पुत्ला जल्छन् । एम्बेसीको बाहिर धर्ना हुन्छ, घेराउ हुन्छ । दोस्रो– यो हुन्छ कि जब भारतसँग कुनै समस्या हुन्छ, तब नेपालको रुझान वा झुकाव चीनतिर हुन्छ । चीनसँग सहायता माग्छन् । म भन्छु कि आजको मितिमा काफी हदसम्म हामीलाई लागिरहेको छ कि चीनको भूमिका, प्रभाव नेपालमा बढ्दै गइरहेको छ ।

नेपालमा कम्प्लिकेसन मैले जुन बताएँ, भारतविरोधी राष्ट्रवाद र चाइना कार्डको जुन ईस्यु छ, यसका ईस्यु अरु जटिल हुन्छ । यही हाम्रो सामुन्नेको चुनौती हो र यसको हामीले फेस गर्नु छ । र, यसको समाधान निकाल्नु छ । डिप्लोम्यासीको यही काम हो कि कुन प्रकारले हाम्रो मित्रता, हाम्रो कनेक्सन, रिलेसनसिप मजबुद बनाउने ।

निश्चय नै नेपालमा चीन एक फ्याक्टर त हो । मलाई लाग्छ, यो एक प्राथमिक इस्यु हो कि कुन किसिमले यो चुनौतीको सामना गरिनेछ ।

एउटा कुरा म भन्न चाहन्छु कि भारतको जुन इन्गेजमेन्ट छ नेपालमा, त्यो हर तप्कासँग छ । हर पोलिटिकल पार्टीका साथ छ । सिभिल सोसाइटीका साथ छ । यो हाम्रो जुन इन्गेजमेन्ट छ, यसलाई अरु मजबुद गर्नुपर्छ । मलाई लाग्छ कि धेरै ठूलो चुनौती छ र यसलाई विल्कुल कूटनीतिक रणनीति बनाएर नै यसको समाधान गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस